फाइल तस्बिर
नवलपरासी। नवलपरासीको कावासोती नगरपालिकाको केरुङ्गे खोलाको पक्की पुल निर्माणको जिम्मा पाएको निर्माण कम्पनी तीन वर्षदेखि बेपत्ता छ। पुल निर्माण कार्य अलपत्र पारेर एड्भेन्चर कन्स्ट्रक्सन प्रालि तीन वर्षदेखि सम्पर्कबिहीन बनेको हो।
१० करोडको लागतमा निर्माण हुन लागेको केरुङ्गे खोलाको पक्की पुलको ठेक्का लिएको कम्पनी बेपत्ता बनेपछि खोजि गर्न सुरु गरिएको छ। कावासोती–४ का वडाध्यक्ष नारायण लोहनीले नगरपालिकाले निर्माण व्यवसायीको खोजी गरिदिन प्रमुख जिल्ला अधिकारीलाई निवेदन समेत दिएको बताए ।
पुल निर्माणका लागि चार वर्षअघि २०७७ असार मसान्तभित्र सकिसक्नुपर्ने गरी ठेक्का सम्झौता भएको थियो। पछि २०८० असार मसान्तसम्मका लागि पुनः म्याद थपिएको छ। तर एक वर्षजति काम गरेर विगत तीन वर्षदेखि निर्माणको सम्पूर्ण काम ठप्प गरेर निर्माण व्यवसायी सम्पर्कबिहीन बनेको स्थानीय बताउँछन्।
नगरपालिकाले पत्रमा काम थालेको वर्षौंसम्म पनि पुल निर्माणको काम सम्पन्न नगरेर बेपत्ता भएको भन्दै ठेकेदारलाई झिकाइदिन अनुरोध गरिएको छ । ठेकेदार झिकाएर कारबाही गर्न र काम पनि सम्पन्न गराउन ताकेता गरिदिन नगरपालिकाले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।