काभ्रे। पाँचखाल खानेपानी आयोजनाको काम हालसम्म ८५ प्रतिशत पुरा भएको छ। सात हजारलाई खानेपानी पुर्याउने लक्ष्यकासाथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम अन्तिम चरणमा पुगेको हो।
आयोजनाको समयावधि एक वर्ष थपिएपछि आउँदो पुस महिनाभित्र काम सम्पन्न गरी नगरका सात हजार घरमा खानेपानी पुर्याउने लक्ष्यका साथ तीव्रता पूर्वक काम भइरहेको आयोजनाले जनाएको छ।
विसं २०७६ भदौ १२ गते सम्झौता गरिएको परियोजनाको २०७९ पुस महिनाभित्र सक्नुपर्ने गरी सहरी खानेपानी तथा सरसफाइ आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता भएको थियो। कोरोना महामारीलगायत सामग्री अभाव तथा विविध कारणले एक वर्ष समयावधि थपिएको हो ।
नगरको १३ मध्ये १० वटा वडाका लागि उक्त खानेपानी आयोजना सञ्चालनार्थ रु एक अर्ब ३४ करोड ६६ लाखमा हुवाइ कन्काई जेभिसँग सम्झौता भएको थियो । आयोजना सम्झौताको शर्तानुसार कुल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरिसकेका छन् । जसअनुसार प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैङ्क खातामा रु १८ हजार जम्मा गरेका छन् ।