नवलपरासी। नवलपरासी (बर्दघाट–सुस्तापूर्व) हुप्सेकोट गाउँपालिकाको विकट क्षेत्रका एक सय ६५ घुरधुरीमा विजुली पुगेको छ। हुप्सेकोट गाउँपालिका–४ रुम्सी, चारघरे र रिताहामा पहिलोपटक राष्ट्रिय प्रसारण लाइन पुगेको हो।
यस क्षेत्रका एक सय ६५ घुरधुरीमा विद्युत पुगेसँगै स्थानीयमा खुसीयाली छाएको छ। वर्षौँदेखि टुकी र सोलार बालेर दैनिकी चलाउँदै आएका यहाँका जनताका प्रत्येक घरमा अहिले बिजुली बलेपछि हर्षित भएका हुन्।
केन्द्रीय विद्युतीकरणको विस्तार र सञ्चालनसँगै चारघरेमा ७०, रुम्सीमा ६० र रिताहाका ३५ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । घरमा केन्द्रीय विद्युत् बलेपछि उज्यालो हुनुका साथै मोबाइल चार्ज, रेडियो सुन्न, विद्यार्थीलाई पढ्न लेख्न साथै विद्युतीय क्रियाकलापका लागि सहज भएको छ।
हुप्सेकोट गाउँपालिका–४ रुम्सीमा रहेको एउटा मात्र विद्यालय हुप्सेकोट माध्यमिक विद्यालयलाई पनि विद्युत् विस्तारले राहत प्रदान गरेको छ ।