प्युठान । बाग्दुला–मच्छी–ठूलाबेंसी सडकको अवस्था नाजुक बनिसकेको छ । ठाउँठाउँमा भासिएको र ठूलठूला खाल्डा परेर धराप बनेको सडकमा बाध्य भएर दैनीक सयौँ गाडी गुड्ने गर्छन् ।
बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकमा यात्रा गर्नै सकस हुने गरेको प्यूठान–गुल्मी गाडी गुडाउँदै आएका चालकहरुको गुनासो छ । सडककै कारण मच्छीदेखि बाग्दुला १२ किलोमिटर सडक पार गर्न एक घण्टाभन्दा बढी समय लाग्ने यात्रुहरुको दुखेसो छ ।
सडक सुधार विकास आयोजनामार्फत काम हुने भएपछि उक्त सडकको नियमित मर्मतसमेत हुन छाडेको छ । बाग्दुलादेखि बाग्लुङको भीमगिठेसम्म ७३ दशमलव ६ किमि दूरीको नयाँ र पुरानो सडकको कालोपत्र हुँदैछ ।
बाग्दुलादेखि गौमुखी–१ अर्खासम्म ४४ किलोमिटर कच्ची सडक निर्माण भइसकेको छ । अर्खाबाट बाग्लुङको भीमगिठेसम्म मात्रै नयाँ ट्र्याक खुल्न बाँकी छ । २ अर्ब ३५ करोड लागत अनुमान गरिएको उक्त सडक खण्ड विस्तारको काम अहिले अपलत्र छ ।