काठमाडौं । नेपाल विद्युत प्राधिकरणसँग सम्झौता नवीकरण गर्न अहिलेसम्म सेवा प्रदायक कम्पनी आएका छैनन् । कात्तिक मसान्तभित्र प्राधिकरणसँग पोल भाडा सम्झौता नवीकरण गरिसक्ने सहमति गरेका इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सञ्चालकहरूले सम्झौता उल्लंघन गर्दै नविकरण गर्न नगएका हुन्।
तोकिएको समयभित्र सम्झौता नविकरण गर्न नजानुले प्राधिकरण र सेवा प्रदायकहरूबीच चलिरहेको पोल भाडा विवाद फेरि बल्झिने पक्का भएको छ।
इन्टरनेट, टेलिफोन तथा केबल टेलिभिजन सञ्चालकहरूले यसअघि गरेको भाडा नवीकरणसम्बन्धी सम्झौता उल्लंघन गरेको प्राधिकरणका उपकार्यकारी निर्देशक एवं ग्राहक तथा वितरण सेवा निर्देशनालय प्रमुख मनोज सिलवालले बताए । सिलवालले दूरसञ्चारबाट लाइसेन्स लिएका सेवा प्रदायकहरूले यसअघिको सहमतिअनुसार भाडा सम्झौता नवीकरण गर्न नआएकाले दूरसञ्चारले कारबाही गर्ने कि आफूहरुलाई लाइन काट्न अनुमति दिने यसबारे दूरसञ्चारलाई प्रश्न गरिने बताए ।
विद्युत् प्राधिकरण र सेवा प्रदायकहरूबीच पछिल्लो ३ वर्षदेखि पोल भाडा विवाद चलिरहेको छ । लामो समयदेखि भाडा नतिर्ने र सम्झौता नवीकरणसमेत नगर्ने कम्पनीहरूलाई प्राधिकरणले गत असोजमा कारबाही थालेको थियो ।
कारबाहीका क्रममा लाइन काट्न थालेपछि अत्यावश्यक सेवा अवरुद्ध भएको भन्दै प्राधिकरणको चर्को आलोचनासमेत भएको थियो । दुई पक्षबीचको विवाद उत्कर्षमा पुगेपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको समन्वयमा सहमति भएको थियो ।