फाइल तस्बिर
काठमाडौं। लिखु–२ जलविद्युत आयोजना संचालनमा स्थानीयले अवरोध गरेको भन्दै स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले ध्यानाकर्षण भएको जनाएको छ।
इप्पानले बिहीबार एक विज्ञप्ती जारी गर्दै आयोजना सञ्चालनमा स्थानीयद्वारा भएको अवरोधप्रति निन्दा गरेको हो।
इप्पानका अनुसार आयोजनाको विद्युत गृह क्षेत्रमा स्थानीय केही व्यक्तिहरुले हुलहुज्जत गर्ने, तालाबन्दी गर्ने र कर्मचारीहरुलाई तर्साउने काम गर्दै आयोजना सञ्चालनमा अवरोध खडा गरेका छन्।
यो आयोजना ग्लोबल हाइड्रोपावर एसोसियट लिमिटेडले रामेछापको उमाकुण्ड गाउँपालिका–१ निर्माण गरेको छ।
आयोजना र त्यसका सरोकारवाला पक्षहरुबीचको कुनैपनि असमझदारी भएमा आपसी संवाद र छलफलबाटै समाधान गर्न सकिनेमा आयोजनालाई गम्भीर क्षति पुर्याउने काम भइरहेको इप्पानले उल्लेख गरेको छ।
इप्पानले विगत केही समयदेखि विभिन्न जलविद्युत आयोजनाहरुमा आफ्ना माग पूरा गराउने नाममा आयोजनाहरुमाथि गम्भीर क्षति पुयाउने काम भइरहेकोप्रति चिन्ता व्यक्त गरेको छ।