काठमाडौं। काठमाडौं महानगरपालिकाले ३५ वटा मोटरसाइकल वर्कसपलाई कारबाही गरेको छ। महानगरले सडक आवागमनमा अवरोध गरेर सञ्चालन भएका ३५ वर्कसपलाई ५ हजार रुपैयाँका दरले जरिवाना तिराएको हो।
नगर प्रहरीले बुधबार सडकमा मोटरसाइकल मर्मत गर्ने, मोबिल पोखेर सडक चिप्लो बनाउने, मर्मतका सामान सडक किनारामा राखेर फोहोर बनाउने, मोटरसाइकल सफा गरेको पानी सडकमा पठाएर कालो बनाउने ५५ जनालाई नियन्त्रणमा लिएको थियो।
बुधबार नै कवाडी सामान संकलन गरेर सडक आवागमनमा अवरोध गर्ने गरी राख्ने २ जनालाई नियन्त्रणमा लिएर १० हजार रुपैयाँ जरिवाना तिराएको महानगरले जनाएको छ। यस्तै प्रचार बोर्ड बोकेर क्याम्पसमा भर्नाका लागि प्रचार गर्दै हिँडेका १ जनालाई पनि पक्राउ गरी ५ हजार रुपैयाँ जरिवाना तिराइएको छ।
सहरी व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तिराइएको जरिवानाबाट एकै दिनमा १ लाख ८५ हजार रुपैयाँ राजस्व संकलन भएको महानगरले जनाएको छ।