भैरहवा । एसियाली विकास बैंकको अनुदानमा खरिद गरिएको प्रदूषणरहित विद्युतीय बस र भ्यान ११ महिनादेखि थन्किएर बसेका छन् । लुम्बिनी भ्रमणमा आउने स्वदेशी र विदेशी पर्यटकका लागि नेपाल सरकारले ठेक्का आह्वान गरेर खरिद गरेको पाँच ठूला बस र १४ भ्यान ११ महिनादेखि लुम्बिनीमा थन्किएर बसेका छन् ।
लुम्बिनीको वातावरणलाई सघाउन ल्याइएका यी गाडी अत्याधुनिक सुविधासहितका करोडौं मूल्यका हुन् । सबै गाडी सोलार प्रविधिबाट चार्ज हुन्छन् । गाडी सञ्चालनका लागि अपनाउनुपर्ने प्रक्रियामा देखापरेका अन्योल मेटाउन नसक्दा सञ्चालनको गति अड्किएको हो । गाडी सञ्चालन प्रक्रियाको गाँठो लुम्बिनी विकास कोष र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच बल्झिएको छ ।
विश्व सम्पदास्थल लुम्बिनीमा वातावरण प्रदूषण कम गर्न भित्रिएका यी बस र भ्यान समयमै सञ्चालन हुन नसक्दा बिग्रने जोखिम बढेको छ ।