सुर्खेत। कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले कर्णाली प्राविधिक शिक्षालयको शैक्षिक भौतिक संरचना निर्माण प्राथमिकतामा परेको बताएका छन्।
मन्त्री सिंहले बिहीबार वीरेन्द्रनगर सुर्खेतमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्राविधिक जनशक्ति उत्पादनको केन्द्र रहेको शिक्षालयको भौतिक संरचना निर्माणलाई प्राथमिकता दिने बताएका हुन्।
उनले भने, ‘सरकारले शिक्षा क्षेत्रमा जोड दिँदै आएको छ । प्राविधिक जनशक्ति उत्पादनमा सहयोग गर्न शिक्षालयको विकासमा सरकारको विशेष जोड छ।’
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेलले शिक्षालयको शैक्षिक विकास तथा भौतिक संरचना मर्मतमा प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए।
दूरदराजमा स्थापित शिक्षालयलाई प्राविधिक जनशक्ति उत्पादनको केन्द्रका रुपमा रुपान्तरण गरी स्वरोजगार बढाउनेतर्फ जोड दिनुपर्ने चर्चा गरे।
स्थापना भएको ४४ वर्षसम्म मुलुकलाई करिब सात हजार प्राविधिक जनशक्ति दिएको शिक्षालयले कृषि, वन, निर्माण तथा स्वास्थ्य सङ्कायमा अध्ययन अध्यापन गरिरहेको छ।