कास्की। फेवाताल जलाधार सिमसार क्षेत्रभित्रको जमिन पुर्ने काम रोक्ने निर्णय भएको छ।
जिल्ला समन्वय समिति कास्की प्रमुख एवं कास्कीका भू तथा जलाधार संरक्षण समितिका अध्यक्ष लीलाधार पौडेलको अध्यक्षतामा शुक्रबार पोखरामा बसेको समितिको बैठकले पोखरा महानगरपालिका र अन्नपूर्ण गाउँपालिकामा पर्ने फेवाताल जलाधार सिमसार क्षेत्र पुर्ने काम रोक्ने निर्णय गरेको हो।
बैठकले सिमसार क्षेत्रमा भइरहेका अवैध उत्खनन् र जमिन पुर्ने काम तत्काल बन्द गर्न पोखरा महानगरपालिकालाई पत्राचार गर्ने र आवश्यक सहयोगका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गर्ने निर्णय गरेको छ।
बैठकले एक संयन्त्र निर्माण गरी सो क्षेत्रको नियमित अनुगमन गर्ने निर्णय गरेको छ । फेवा जलाधार र सिमसार क्षेत्रमा अनधिकृतरूपले दोहन भइरहेको भन्ने सूचना आएपछि समितिको बैठक बसेर उक्त निर्णय लिइएको र नियमविपरीत कानुन हातमा लिएर काम गर्ने जो कोहीलाई पनि कारबाही गरिने बताइएको छ।