काठमाडौं। चिरख्वा हाइड्रोपावर लिमिटेडले ३३ केभी प्रसारणलाइन निर्माण गर्ने भएको छ। कम्पनीले भोजपुरको षडानन्द नगरपालिका–१ मा रहेको माथिल्लो चिरख्वा खोला जलविद्युत आयोजनाको स्वीचयार्डदेखि संखुवासभाको खाँदबारी नगरपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको तुम्लिङटार सबस्टेसनसम्म जोड्ने प्रसारणलाइन निर्माण गर्ने भएको हो।
माथिल्लो चिरख्वा खोला, तल्लो चिरख्वा खोला र तल्लो इर्खुवा खोला जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गर्न १८.६५ किलोमिटर प्रसारणलाइन निर्माण गर्न लागिएको छ।
विद्युत विकास विभागले सार्वजनिक सूचना जारी गर्दै आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित रायरसुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई अनुरोध गरेको छ।
यो प्रसारणलाइनको क्षमता ३३ हजार भोल्ट हुनेछ। सिंगल सर्किट रहने यो प्रसारणलाइनले २२.९ मेगावाटसम्मको विद्युत शक्ति प्रसारण गर्न सक्छ।