काठमाडौं। ७५६ मेगावाटको तमोर जलाशययुक्त आयोजनामा कुनै प्रगति नभएपछि लगानी बोर्डले पत्राचार गर्ने भएको छ।
लगानी बोर्डका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा आइतबार बसेको लगानी बोर्डको ५४औं बैठकले पावर कन्स्ट्रक्सन कर्पोरेसन अफ चाइना लिमिटेड (पावर चाइना) ले बनाउने भनिएको आयोजनामा कुनै प्रगति नभएपछि पत्राचार गर्ने निर्णय गरेको हो।
चिनियाँ र नेपाली लगानीमा बनाउने भनिएको आयोजनाको काममा कुनै प्रगति नभएपछि बोर्डको बैठकले आयोजना बनाउने–नबनाउने भन्ने विषयमा पत्राचार गर्ने निर्णय गरेको हो ।
ताप्लेजुङ, पाँचथर र तेह्रथुममा पर्ने ७५६ मेगावाट क्षमताको तमोर ०७६ मा पावर चाइना र नेपाली कम्पनी एचआईडीसीएलले संयुक्त कम्पनी स्थापना गरी बनाउने सम्झौता भएको थियो । तर आयोजनाको जिम्मा पाएको कम्पनीले ३ वर्षसम्म बनाउने छाँट नदेखाएपछि एचआईडीसीएलले सम्झौता तोड्न लगानी बोर्डलाई आग्रह गरेको थियो ।
पावर चाइनाले सम्झौताअनुसार एचआईडीसीएललाई कुनै रेस्पोन्स नगरेपछि लगानी बोर्डमार्फत सम्झौता तोड्ने प्रक्रिया अघि बढाइएको एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले जानकारी दिए ।
लगानी बोर्डसँगको सम्झौताअनुसार ३ महिनाभित्र कम्पनी स्थापना गर्ने, कम्पनी स्थापना भएको ३ महिनाभित्र अनुमतिका लागि आवदेन दिने, अनुमति पाएको १८ महिनामा अध्ययन पूरा गर्नेलगायत सम्झौता भए पनि त्यसअनुसार काम अगाडि नबढेपछि पत्राचार गर्ने निर्णय भएको बताइएको छ।