रौतहट। रौतहटको चन्द्रपुर–३ का स्थानीयले अलपत्र छोडिएको पुलमुनि रिले अनसन सुरु गरेका छन्। पुरानो ठेक्का रद्द गरी तीव्र गतिमा पुल निर्माण अघि बढाउन माग राख्दै स्थानीयले सोही पुलमुनि अनसन सुरु गरेका हुन्।
चुरे क्षेत्रेको गैंडाटार गाउँलाई जोड्ने चन्द्रपुर–४ स्थित चाँदी नदीमा निर्माणाधीन पुल सम्झौता अनुसार काम नगरी अलपत्र पारिएको भन्दै स्थानीयले कडा विरोध सुरु गरेका छन्। पुल अलपत्र पार्नुमा सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख दरोगाप्रसाद साह, निर्माण व्यवसायी दयाराम साहसहित सम्बन्धित इन्जिनियरहरु जिम्मेवार रहेको भन्दै उनीहरुको सरुवाको समेत माग गरेका छन्।
स्थानीयहरूले चाँदी नदीको अलपत्र पुल निर्माणका लागि संघर्ष समिति’ गठन गरी रिले अनसन सुरु गरेका हुन् । आइतबार बिहान ठूलो संख्यामा पुलमुनि भेला भएका स्थानीयले सडक प्रमुख दरोगा र निमार्ण व्यवसायी दयारामको मिलोमतोमा निर्माणको काममा हेलचेक्र्याइँ गरेको आरोप लगाएका छन् ।
संघर्ष समितिका अध्यक्ष गोविन्दप्रसाद तिमल्सिनाले पुल निर्माणको काम तदारुकता साथ सुरु नभएसम्म अनसन जारी राख्ने बताए ।
पप्पु शिवशंकर जेभीले २०७४ असार ३१ गते २५ करोड ३६ लाख २४ हजारमा चाँदी नदी पुल निर्माणको लिखित सम्झौता गरेको थियो । जसअनुसार २०७६ असार ३१ गते पुल निर्माणको काम सक्नुपर्ने थियो । तर ६ वर्ष बित्नै लाग्दा पनि पुल बनेको छैन । पुलको तेश्रो पटक यही असार मसान्तसम्म सक्ने गरी म्याद थप भएको छ । थपिएको म्यादमा यस पटक पनि निर्माण सम्पन्न हुने अवस्था नदेखिएको भन्दै स्थानीय आन्दोलित बनेका हुन् ।