काठमाडौं। राष्ट्रिय गौरवको आयोजना तमोर करिडोर निर्माणको काम द्रूत गतिमा भइरहेको छ। करिडोरअन्तर्गत चीनको सीमावर्ती क्षेत्र ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलासम्म हाल ट्रयाक खोल्ने काम भइरहेको छ।
त्यस्तै आगामी फागुन मसान्तसम्म चीनको सीमावर्ती क्षेत्रसँग जोड्ने गरी काम भइरहेको निर्माण कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन्। सो करिडोर चीनको रिउ बजारसँग जोडिने भएको छ। टिप्ताला नाकादेखि ओलाङचुङगोला हुँदै गैरी पाटीसम्म ३५ किलोमिटर लामो ट्रयाक दुई वर्ष अघि नै खोल्ने काम भइसकेको छ।
सुनसरीको चतरादेखि धनकुटाको मूलघाट, तेह्रथुम, पाँचथर र ताप्लेजुङको ओलाङचुङगोलाको सुकेपानीसम्म करिडोर निर्माण गरिएको छ। भारत र चीनसँग सडक सञ्जालले जोड्ने आयोजनाका सूचना अधिकारीले जानकारी गराएका छन्। सुनसरीको चतरादेखि ओलाङचुङगोलासम्म सो करिडोर २३० किलोमिटर लामो रहेको छ। त्यसैगरी ओलाङचुङगोलादेखि टिप्ताला नाकासम्म २४ किलोमिटर पर्दछ। तमोर करिडोरको कूल लम्बाइ २५४ किलोमिटर र जोगवनी नाकादेखि चतराको लम्बाइ ६० किलोमिटर रहेको छ।
सो करिडोरको ट्रयाक निर्माण अन्तिम चरणमा पुगेको छ सुचना अ धिकारीले बताएका छन्। धनकुटाको मूलघाटबाट तमोर करिडोर खन्न सुरु गरिएको हो। ओलाङचुङगोलामा ३०० मिटर ट्रयाक निर्माण सकिएको छ। तमोर कोरिडोरअन्तर्गत हाल धनकुटा, पाँचथर र ताप्लेजुङमा धमाधम काम भइरहेको छ। सो खण्डमा १० पुल निर्माणाधिन अवस्थामा रहेका छन्। अब सुकेपानीदेखि गैरीपाटीसम्मको तीन किलोमिटर क्षेत्रमा मात्र काम बाँकी छ।
तमोर कोरडोर निर्माण २०६५ सालमा थालिएको थियो। सडक उपभोक्ता समिति गठन गरी निर्माण प्रारम्भ भएको सो करिडोरलाई भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो सडकका रूपमा विकास गर्न लागिएको हो। सडक निर्माणमा हालसम्म रु ४० करोड २० लाख खर्च भएको आयोजनाले जानकारी गराएको छ। सो सडकले नेपाललाई भारतको जोगवनी र चीनको तिब्बतस्थित रियु व्यापारिक केन्द्रसँग जोड्ने छ।