काठमाडौं। भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उपकरणमा आधारित अवतरण प्रणाली ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’ (आइएलएस) सञ्चालनका लागि भारतबाट स्वीकृती प्राप्त भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्डले यसबारे जानकारी गराएका हुन्।
उनले भारत सरकारले नेपाल–भारत सीमा नजिक रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘इन्स्ट्र्युमेन्ट ल्यान्डिङ सिस्टम’बाट उडानसम्बन्धी स्वीकृति दिएकोमा प्रशंसा गर्ने बताए। यसबाट सुरक्षित र पूर्णक्षमतामा हवाई उडान हुने समेत उनको भनाइ छ। प्रधानमन्त्री प्रचण्डले नवनिर्मित भैरहवा र पोखरास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतका विभिन्न सहरमा उडानको अपेक्षा गरेको समेत जानकारी दिए।
प्रधानमन्त्री दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई देशबीचको उडानको सम्भावना भएको र भारतबाट अतिरिक्त हवाई प्रवेश विन्दु दिन सकारात्मक रहेको जानकारी गराएका हुन्। उनले भने, “भैरहवा विमानस्थलबाट एटीआर एयरक्रयाफ्टको उडान सम्भव भइसकेको छ। अब, महेन्द्रनगरबाट हवाई प्रवेश विन्दुको अनुमतिका लागि हामीले भारत सरकारसमक्ष अनुरोध गरेका छौँ।”