काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा लुम्बिनी प्रदेशका तीन महत्वपूर्ण आयोजनामा हस्ताक्षर भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा गत जेठ १७ गते भारतको औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री दाहालकाे भ्रमणकाे क्रममा भारतसँग लुम्बिनी प्रदेशका तीन महत्वपूर्ण आयोजनामा हस्ताक्षर भएका हुन्।
निर्माण सम्पन्न भएर पनि भारतीय हवाई रुट नपाएका कारण पूर्ण सञ्चालनमा आउन नसकेको भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले निकास पाएको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपकरणमा आधारित अवतरण प्रणाली (आईएलएस) सञ्चालन गर्न भारतले अनुमति दिएको हो।
सम्झौतासँगै अब जुनसुकै मौसम वा अवस्थामा पनि उपकरणमा आधारित (आईएलएस) विमानहरू अवतरण हुनसक्ने भएका छन् ।
नेपालगन्जस्थित जैसपुरमा निर्माण भएर सञ्चालनमा आउन नसकेको एकीकृत जाँच चौकी (आईसीपी) उद्घाटन भएको छ । आईसीपीको उद्घाटनले नेपाल–भारत सीमाको जमुनाह नाकाको व्यापारलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
र रुपन्देहीको भैरहवामा लामो समयदेखि निर्माण सुरु हुन नसकेको एकीकृत जाँच चौकी सुरु हुने भएको छ । प्रधानमन्त्रीको भारत भ्रमणबाट लुम्बिनीले पाएका यी महत्त्वपूर्ण उपलब्धि हुन्।