सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिकाले इन्धनबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी बनाउन अनुसन्धान सुरु गरेको छ।
सरकारले सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन गर्दै विद्युतीय गाडीमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेपछि इटहरी उपमहानगरले पेट्रोलियमबाट विद्युतिय सवारीमा रुपान्तरणको तयारी सुरु गरेको हो।
पहिलो चरणमा दुई वटा मोटरसाइकललाई विद्युतीयमा रुपान्तरण र विस्तृत अनुसन्धान गर्नका लागि सम्याति इलेक्ट्रो व्हील्स प्रालिसँग सम्झौता गरेको इटहरी उपमहानगरले जनाएको छ।
पालिकाले उपलब्ध गराएको मोटरसाइकललाई विद्युतीय मोटरसाइकल बनाउने सहमती भएको हो।
संघिय सरकारले मर्मत गरेर उपयोगमा आउन नसक्ने र २० वर्ष अवधि पुगेका सवारीसाधनलाई लागतका आधारमा विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न सकिने व्यवस्था गरेको थियो । सोही व्यवस्था अनुसार पहिलो चरणमा अनुसन्धान सुरु गरेको उपमहानगरले जनाएको छ।