काठमाडौं। सौर्य एयरले भैरहवा–विराटनगर सिधा उडान सुरु गरेको छ। भैरहवा–विराटनगर पहिलो पटक सिधा उडान सुरु भएसँगै व्यवसायीहरु उत्साहित बनेका छन्। कार्तिक २२ गतेबाट भैरहवा–विराटनगर सिधा उडान सुरु भएको हो। भैरहवा–विराटनगर उडान सुरु भएसँगै आफूहरुलाई व्यावसायिक तथा अन्य काममा विराटनगरसहित प्रदेश १ जान सहज भएको रुपन्देही उद्योग संघका पूर्व अध्यक्ष एजाज आममले बताए।
सौर्य एयरका भैरहवा प्रमुख जितेन्द्र यादव पनि भैरहवा–विराटनगर उडानमा यात्रुको चापले आफूहरु उत्साहित भएको बताए। उनका अनुसार लुम्बिनी प्रदेश र प्रदेश १ बीच सिधा हवाई सम्पर्कले दुई प्रदेशको पर्यटन, उद्योग र व्यापार विस्तारमा सघाउ पुग्नुका साथै भुटान, पूर्व–उत्तर भारत र बंगलादेशसम्म लुम्बिनीको सिधा पहुँच स्थापित हुनेछ।
लुम्बिनी घुम्न आउने आन्तरिक पर्यटकका लागि पनि भैरहवा–विराटनगर हवाई सेवा सुरु भएपछि सहज भएको लुम्बिनी विकास कोषका सूचना अधिकारी डा. हरिध्वज राईले बताए। सौर्यले भैरहवा–विराटनगर उडानमा ५० सीट क्षमताको वमवाडियर सिआर जे २०० जेट एयरक्राप्ट प्रयोग गरेको छ। भैरहवा–विराटनगर हवाई यात्रा ४० मिनेटमा पूरा हुन्छ।
सिधा उडान नहुँदा विमान प्रयोग गर्नैपर्नेले भैरहवाबाट काठमाडौं जाने र त्यहाँबाट विराटनगर उडानको टिकट लिन्थे। यसो गर्दा पनि यात्रुका लागि ३ देखि ४ घण्टा समय लाग्थ्यो। भैरहवा र विराटनगरबीच सिधा हवाईले लुम्बिनी प्रदेशका बासिन्दालाई पूर्वी नेपालको भेँडेटार, धनकुटा, इलाम, पाथीभरालगायतका पर्यटकीय क्षेत्रमा जान सहज भएको छ। सौर्यका भैरहवा शाखा प्रमुख यादवले भारतको दार्जिलिङ र सिक्किम जस्ता पर्यटकीय क्षेत्रमा घुम्न जान चाहने लुम्बिनी प्रदेशवासीका लागि पनि सहज भएको बताए।