तनहुँ। सडक विस्तारका लागि तनहुँको बन्दीपुर गाउँपालिका–१ स्थित डुम्रे बजारका घरटहरा भत्काउन सुरु गरिएको छ।पृथ्वीराजमार्ग विस्तारका लागि डुम्रे बजारमा रहेको सडक मापदण्डभित्रका घरटहरा भत्काउन सुरु गरिएको हो।
मुग्लिन पोखरा सडक योजनाका अनुसार बन्दीपुरको प्रमुख व्यापारिक केन्द्रको रुपमा रहेको डुम्रे बजारका क्षेत्रमा रहेका मापदण्डभित्र पर्ने संरचना भत्काउने काम भइरहेको छ।
यो खण्डमा छ सय ३१ घरटहरा भत्काइनेछ । यसका लागि रु २२ करोड ४५ लाख मुआब्जा वितरण गरिने आयोजनाले जनाएको छ।। घरटहरा भत्काउनका लागि ८३ जनालाई पहिलो किस्ताबापतको रकम भुक्तानी गरिएको छ, पहिलो किस्ता प्राप्तिका लागि अन्यको निवेदन परे पनि बजेट अभावका कारण दिन नसकेको र अपुग रकम असार मसान्तसम्म निकासा भए लाभग्राहीलाई वितरण गर्न सकिने आयोजनाले जनाएको छ।
मुग्लिन पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ३० प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।