सिन्धुली । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठ बज्रमारा सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न पुगेका छन्। मन्त्री श्रेष्ठ आइतबार सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा सिचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न गएका हुन्।
मन्त्री श्रेष्ठ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री तिर्थबहादुर लामालाई लिएर सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा पर्ने बज्रमारा सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न पुगेका हुन्। सो सिँचाइ आयोजनाले दसौं हजार बिगाहा उर्वर भूमि सिँचाइ गर्न सक्ने बताइएको छ।
उनले सिन्धुली, काभ्रे र मकवानपुर जिल्लाको सिमाना जोडिएको स्थल भोर्लेनी नजिकै बागमती किनारामा रहेको बज्रमारामा ड्याम बाँधेर बागमतीको पानी हरिहरपुरगढीको सुख्खाग्रस्त दसौं हजार खेतीयोग्य जमिनमा सिंचाइको लागि पुर्याउन सकिने उल्लेख गरे । यस आयोजनाको डिपिआर समेत तयार भइसकेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले आर्थिक वर्ष २०८०/०८१ को बजेटमा प्राथमिकतामा राखेर काम सुरु गर्ने जानकारी दिए ।
उनले सिँचाइ आयोजनाको सम्भाव्यता अध्ययन गर्न गएका बेला आफ्नो निर्वाचन क्षेत्रलाई ५ वर्षभित्रमा प्रदेशकै नमुना क्षेत्र बनाउने दाबी समेत गरेका छन्।
उनले आफ्नो निर्वाचन क्षेत्र बागमती प्रदेशसभाको ६६ वटा निर्वाचन क्षेत्रमध्ये मानव विकास सूचकांकमा सबैभन्दा पुछार ६६ औं नम्बरमै रहेको भन्दै यस क्षेत्रलाई विकासको दृष्टिले पहिलो नम्बरमा ल्याउने बताए ।
मन्त्री श्रेष्ठले बागमती प्रदेश सरकारले मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकालाई धान पकेट क्षेत्र घोषणा गर्ने बताए । त्यस्तै घ्याङ्लेख गाउँपालिकालाई तरकारी पकेट क्षेत्रको रूपमा विकास गरी कृषि क्रान्ति ल्याउने उनले दाबी गरेका छन्।