नेपालगञ्ज। कोहलपुरको साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ। साधारण सभाले गठन गरेको संस्थाको आर्थिक हिसाब छानबिन गर्न बनेको समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै भवनमा तालाबन्दी गरिएको हो।
संस्थामा आबद्ध आम उपभोक्ताहरूले छानबिनबाट आर्थिक हिनामिना भएको आरोप लगाउँदै प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्।
साधारण सभामा कोषाध्यक्ष एक नारायण चापागाईँले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन चित्त बुझ्दो नभएको भन्दै गठन गरेको छानबिन समितिले प्रतिवेदन तयार पारे पनि सो प्रतिवेदन हाललाई गुपचुप राख्न खोजिएको उपभोक्ताको आरोप छ। प्रमुख दलहरूको आग्रहमा समितिले प्रतिवेदन सार्वजनिक गर्न नसकेको जनाइएको छ ।
संस्थाले प्रतिवेदन सार्वजनिक नभएसम्म कुनै गतिविधि गर्न नदिने उल्लेख गरेको छ। प्रतिवेदन तयार भई सकेपछि कसले सो प्रतिवेदन सार्वजनिक नगर्न दबाब दिएको पनि बाहिर आउनुपर्ने माग गरेका छन्। संस्थाका अधिकांश उपभोक्ताहरूले प्रतिवेदन सार्वजनिक नगर्दासम्म निर्वाचन गर्न नहुनेमा जोड दिएका छन् ।