गाईघाट। घुर्मी–चतरा कोशी कोरिडोर अन्तर्गत बेँसीगाउँदेखि चिपटारसम्मको नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
उदयपुरको कटारी नगरपालिका–१० स्थित राम्चे बेँसीगाउँदेखि भालुखोला चिपटारसम्म मोटरेबल सडकको नयाँ ट्र्याक निर्माणको काम अन्तिम चरणमा पुगेको हो।
पूर्वाधार विकास कार्यालय उदयपुरको एक करोड ७२ लाख लागतमा बेँसीगाउँ भालुखोला सडकको ट्र्याक निर्माण कार्य अन्तिम चरणमा पुगेको र आउँदो असार २० गतेभित्र निर्माण कम्पनीले सो खण्डमा करिब सात किलोमिटर नयाँ ट्र्याक खोल्ने काम सम्पन्न गर्ने गरी काम गरिरहेको पूर्वाधार विकास कार्यालय गाईघाटले जनाएको छ।
मध्यपहाडी लोकमार्गमा जोडिने कोशी कोरिडोरको नामले परिचित उदयपुरको घुर्मी–चतरा खण्ड सडकले यस जिल्लाका सात वटा स्थानीय तहलाई छोएर जाने छ। करिब १० वर्षअघिदेखि अलपत्र हुँदै आएको सो सडकको पुनर्निर्माणमा कटारी, त्रियुगा, चौदण्डी र बेलका नगरपालिकासहित लिम्चुङ्बुङ, रौतामाई र ताप्ली गाउँपालिकाले संयुक्त रूपमा पहल गरेपछि पुनर्निर्माणको काम सुरु भएको हो।