काठमाडौं। मध्यपहाडी राजमार्ग अन्तर्गतको बागलुङ–बुर्तिबाङ सडकमा कामै नगर्ने निर्माण कम्पनीसँग ठेक्का तोड्ने प्रक्रिया अगाडी बढाएको छ। पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले भारत कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएको हो।
कार्यालयल मंगलबार सूचना जारी गर्दै बागलुङ–बुर्तिबाङ सडक खण्डको काम नगर्ने भारत कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ। निर्देशनालयले यसका लागि निर्माण कम्पनीसँग ठेक्का किन नतोड्नेरु स्पष्टिकरणसहित कारण १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ।
यस कार्यालयसँग भारत कन्स्ट्रक्सन–सिद्धि साई जेभी बीच २०७३ माघ १४ मा सम्झौता भएको थियो। तर पछि समयमा काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा गरी ४ पटक म्याद थप भई यस ठेक्काको म्याद २०८० असार २० गतेसम्म थियो।
निर्माण कम्पनीले ७ वर्षमा पनि काम पुरा नगरेपछि त्यहाँका स्थानीय बासिन्दा आन्दोलित समेत भएका थिए।
हालसम्म कार्यालयले गरेका कुनै पनि पत्रको जवाफ नआएको र म्याद थप गर्दाका बखत तोकिएका माइलस्टोनमा हुनुपर्ने प्रगति समेत नभएको अवस्थाले गर्दा ठेक्का तोड्न लागिएको कार्यालयले जनाएको छ।
