काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग जुनसुकै ठाउँमा बसेर पनि भर्चुअल संवाद गर्न सकिने व्यवस्था मिलाइएको छ। मन्त्रालयबाट हुने कार्य सम्पादनलाई प्रभावकारी बनाउन नागरिकका सुुझाव र गुनासो सहज प्राप्त होस् भनि मन्त्रीले नागरिकसँग भर्चुअल संवाद गर्ने व्यवस्था मिलाइएको हो।
यसका लागि मन्त्रालयको वेबसाइटमा ‘मन्त्रीसँग भर्चुअल संवाद’ प्लेटफर्म थप गरिएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको वेबसाइटमा गएर ‘मन्त्रीसँग भर्चुअल संवाद छनौट गरी संवाद प्रक्रिया अघि बढाउन सकिने छ। अथवा सिधैं यो पृष्ठमा गएर पनि मन्त्रीलाई मन्त्रालय वा सरकारसँग सम्बन्धित गुनासो वा सुझाव राख्न सकिनेछ।
यसले देशका जुनसुकै कुनाबाट पनि गुनासो र सुुझाव प्राप्त गर्न सकिने मन्त्रालयको विश्वास छ।
मन्त्रालयमा दैनिक भेट गर्न आउनेहरूको चाप काम गर्न र अधिकांशका अत्यावश्यकीय साना–साना गुनासो सुन्न र समाधान गर्नका लागि मन्त्रालयले त्यस्तो गुनासो सेवाग्राहीले अनलाइनबाट पठाउन सकुन् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको हो। यो प्लेटफर्ममार्फत मानिसहरुले मन्त्रालय नपुगेर पनि देशका जुनसुकै कुनाबाट गुनासो र सुझाव दिन सक्नेछन्।
मन्त्रीको सञ्चार सचिवालयबाट सम्बन्धित निकाय पक्षसँग समन्वय गरी जिज्ञासाको सम्बोधन साप्ताहिक रूपमा गर्ने व्यवस्था मिलाइएको मन्त्रालयले जनाएको छ।