काठमाडौं। नेपाल विद्युत प्राधिकरणको इटहरी वितरण केन्द्रले लामो समयदेखि विद्युत महसुल नतिर्ने ग्राहकलाई कारबाही गरेको छ। चालू आर्थिक वर्षको १० महिनामा विद्युत महसुल तिर्न अटेर गरेका दुई हजार ग्राहकलाई वितरण केन्द्रले कारबाही गरेको हो।
वितरण केन्द्रले ६० दिनभन्दा बढीको विद्युत बक्यौता बाँकी रहेका ग्राहकको लाइन काटिदिएको छ। विद्युत महसुल नतिरेर कारबाहीमा परेका ग्राहकबाट जरिवानासहितको बक्यौता असुल गरेको केन्द्रले जनाएको छ।।
यो अवधिमा कारबाहीमा परेका २ हजार ११ जना ग्राहकबाट जरिवानासहित ३ करोड १५ लाख ८ हजार ५ सय ६९ रुपैयाँ असुल गरेको बताइएको छ। १० महिनामा लाइन काटेर कारबाही गरिएका ग्राहकबाट २ करोड ६९ लाख ४७ हजार ५ सय ८२ रुपैयाँ असुल गर्नुपर्ने थियो । ती ग्राहकबाट ३ करोड बढी बक्यौता असुल गरी लाइन जोड्ने काम पनि यो अवधिमा भएको केन्द्रले जनाएको छ।