काठमाडौं। लुम्बिनी केबलकारको आज औपचारीक उद्घाटन हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज औपचारीक रुपमा केबलकारको उद्घाटन गर्ने भएका हुन्।
प्रधानमन्त्रीबाट उद्घाटन भएसँगै आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार आजदेखि व्यवसायिक रुपमा सञ्चालनमा आउने छ।
केबलकार दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ। लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुई वटा पालिकाका लागि छुट्टाउने छ। बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।
लुम्बिनी केवलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तब्य थपिएको बताए। भारतको गोरखपुर, लखनउलगायत विभिन्न शहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरेको ढकालको भनाई छ।
केबलकार र रिसोर्ट सहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ।