काठमाडौं। नेपाल र भारतका ऊर्जा सचिवबीच ऊर्जा सहकार्यका विविध आयामका बारेमा छलफल भएको छ। ऊर्जा सचिव देवेन्द्र कार्कीको नेतृत्वमा भारत भ्रमणमा गएको तीन सदस्यीय टोली र भारतका ऊर्जा सचिव आलोक कुमारबीच द्विपक्षीय ऊर्जा सहकार्यको सम्बन्धमा सकारात्मक छलफल भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार दुई देशबीचमा ऊर्जा क्षेत्रको सहकार्य र त्यसका विविध आयामका बारेमा छलफल भएको हो। त्यसैगरी प्रवक्ता भेटुवालले गत कात्तिक ३० गते भारतको राजधानी नयाँ दिल्लीमा द्विपक्षीय हित र चासोका अतिरिक्त ऊर्जा क्षेत्रका साझा चासोका बारेमा सकारात्मक कुराकानी भएको जानकारी दिएका छन्। ऊर्जा सचिव नेतृत्वको प्रतिनिधिमण्डल बुधबार स्वदेश फर्केको थियो। त्यस्तै नेपालले केहीदिन पहिलेदेखि भारतलाई ३९ मेगावाट बिजुली निर्यात गरिरहेको छ।