सिन्धुपाल्चोक। जिल्लाको मेलम्ची नदीमा बेलिब्रिज निर्माण गरिने भएको छ। बागमती प्रदेश सभासदस्य कृष्णकुमार तामाङ (समीर) ले तीन पालिका जोड्ने मेलम्ची नदीमा बेलिब्रिज निर्माण प्रक्रिया तत्काल अगाडि बढ्ने जानकारी दिएका हुन्।
उनले प्रदेश सभा निर्वाचनका समयमा नै जेठ मसान्तभित्र बेलिब्रिज निर्माण भइसक्ने प्रतिबद्धता जनाएपनि केही ढिलो गरी काम सुरु हुन लागेको जानकारी दिए।
प्रदेश सांसद तामाङले वर्षायाममा यहाँको नागरिकहरूलाई आवतजावत गर्न निकै समस्या हुने भएकाले जतिसक्दो चाँडो सम्पन्न गर्नका लागि आग्रह गरेको बताए । महासेनानी ईश्वर बुढाथोकीले बेलिब्रिज जडान कार्य केही चुनौती रहे पनि जतिसक्दो चाँडो कार्य सम्पन्न गर्न लागिपर्ने जानकारी दिए ।
मेलम्ची पारिको वडा नं ९ र १० तथा पाँचपोखरी थाङ्पाल र इन्द्रावती गाउँपालिका जोड्ने सो पुल निर्माण भएपछि त्यहाँका नागरिकले प्रत्यक्ष लाभ लिनेछन् भने सदरमुकाम चौतारा जाने छोटो दूरीको ‘रुट’ का रुपमा समेत यस सडक प्रयोग हुँदै आएको छ ।
नेपाली सेनाको इञ्जिनियरिङ विभाग, १४ नं वाहिनी अड्डाबाट महासेनानी बुढाथोकीको नेतृत्वमा आएको टोलीले बेलिब्रिज निर्माणका लागि अध्ययन सर्वेक्षण गरेको छ। ०७८ साल असार १ गते आएको बाढीले पक्की पुल बगाउँदा यहाँका नागरिकहरूले बर्खाको समयमा सास्ती खेप्दै आएका छन् ।