काठमाडौं। अर्थमन्त्री डा. प्रकाशशरण महतले बहुउद्देश्य टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका छन्। नुवाकोट पञ्चकन्या गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन कार्यक्रममा मन्त्री डा. महतले टोखा–छहरे सुरुङमार्ग यसै वर्षदेखि निर्माण प्रकृया अघि बढ्ने बताएका हुन्।
उनले भने, टोखा–छहरे सुरुङमार्ग नुवाकोटको मात्र आवश्यकता होइन । यो सुरुङमार्ग चीनसँगको व्यापारलाई सहज बनाउने र पृथ्वी राजमार्गलाई जोड्ने भएकाले यो सुरुङमार्गको बहुआयमिक उपयोगिता छ । त्यसैले यो नुवाकोटको मात्र पूँजी होइन ।’
‘यो सुरुङमार्गको धेरै वर्षदेखि चर्चा भएको विषय हो । चर्चा भयो, ठोस पहल भएन । अहिले हामीले ठोस पहल गरेर एक अर्ब बजेट सुनिश्चित गरेका छौं । यद्यपि यसमा विदेशी सहयोग आउने सम्भावना छ’ भवन उद्घाटन समारोहमा मन्त्री डा. महतले भने, ‘विदेशी सहयोग आओस् नआओस्, यो सुरुङमार्ग निर्माणको प्रकृया हामी अगाडि बढाउँछौं।’
मन्त्री डा. महतले भन्नुभयो, ‘बजेटको मूल लक्ष्य बनेको देशको अर्थतन्त्रलाई चलायमान बनाउने, राजस्वको आकार बढाउने, त्यसमार्फत् अर्को वर्ष हामीले धेरै बजेट विनियोजन गर्न सकौं । आवश्यकताका आधारमा नुवाकोटले पाउनुपर्ने बजेट यस वर्ष सुनिश्चित भएको छ।’