झापा। भद्रपुर नगरपालिकामा ‘सन्थाल आवास’ निर्माण गर्न दुई करोड बजेट विनियोजन गरिएको छ। आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सङ्घीय सरकारबाट विशेष अनुदानस्वरुप विपन्न आदिवासी सन्थाल समुदायको घर निर्माण गर्न दुई करोड छुट्याएको हो।
यो बजेटबाट करिब एक सय घर निर्माण गर्न सकिने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मीले जानकारी दिए । प्राप्त बजेटसँगै लाभग्राहीबाट केही लागत सहभागितासमेत गरी घर निर्माण गर्ने योजना रहेको बताइएको छ।
भद्रपुर नगर क्षेत्रमा ६ सय ३४ घर आदिवासी सन्थाल समुदायको बसोबास रहेको छ। एकल महिला, आर्थिक अवस्था लगायतका आधारमा मापदण्ड बनाएर प्राथमिकताका आधारमा घर निर्माण गरिने बताइएको छ।