काठमाडौं। शौचालय निर्माणको रकममा भ्रष्टाचार गरेको आरोपमा कास्कीको कैलाश टेत्सुओ प्राथमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक नारायणप्रसाद पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध बिशेष अदालत काठमाडौंमा आइतबार मुद्दा दायर गरेको हो।
पौडेलले कैलाश टेत्सुओ प्राथमिक विद्यालयको शौचालय निर्माण गर्नको लागि निकासा भएको रकम र विद्यालयको अक्षय कोषको रकम हिनामिना गरी भ्रष्टाचार गरेको आयोगको आरोप छ। विद्यालयको शौचालय निर्माण गर्नका लागि रकम निकासा भएकोमा सो कामका लागि पौडेलले उक्त रकम बैंकबाट झिकेको तर शौचालय निर्माणको लागि कुनै पहल नगरेको आयोगको भनाइ छ ।
जिल्ला शिक्षा कार्यालयबाट कार्य सम्पन्न हुन नसकेको भए उक्त रकम बेरुजु खातामा दाखिला गर्न पटक–पटक निर्देशन दिइएकोमा पौडेलले रकम दाखिला समेत नगरेको बताइएको छ।
शौचालय निर्माणको लागि आएको दुई लाख रुपैयाँ र विद्यालयको नाममा रहेको अक्षय कोषको एक लाख १२ हजार रुपैयाँ गरी तीन लाख १२ हजार हिनामिना गरेको पौडेलमाथि आरोप छ।