हुम्ला। कर्णाली कोरिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिकाको खार्पुस्थित दोजाम कर्णाली नदी किनारमा पक्की पुल निर्माण कार्य सुरु गरिएको छ। पुल निर्माणको क्र्रममा निस्किएको तातोपानीको व्यवस्था गरी पुल निर्माण कार्य सुरु गरिएको हो।
पुलको पिलरका जग खन्ने क्रममा निस्केको तातोपानीलाई मेसिन जडान गरी तातोपानीलाई पाइपबाट नदीमा फालेपछि पुल निर्माण कार्य अगाडी बढेको गाउँपालिकाले बताएको छ।
तातोपानी निस्केपछि एक महिनासम्म पुल निर्माणको कार्य रोकिएको थियो। पुल निर्माण कम्पनी स्वच्छन्द माउण्ट मेमेरी जेभीले पहिले पानी तान्नका लागि प्रयोग गरिएका दुई वटा मेसिन जलेपछि पुन अर्को मेसिन निर्माण कम्पनीले बाहिरबाट खरिद गरेर ल्याई जडान गरेर तातोपानी व्यवस्था गर्न सफल भएको हो ।
पुल निर्माण गर्न भ्याट बाहेक दश करोड ४८ लाख रुपियाँ लाग्ने गरी आयोजनाले सम्झौता गरेको छ।