खोटाङ। खोटाङको वंशिलाघाटस्थित सुनकोशी नदीमा पुल निर्माणको काम सुरु भएको छ। भ्याट र पिएससहित १९ करोड १८ लाख ४१ हजार चार सय रुपियाँमा उक्त पुल निर्माण सुरु भएको हो।
पुल निर्माणका लागि २०७७ पुस २८ गते एम।एस कालिका–वेदांसी जेभीठेक्का सम्झौता भएको थियो। सम्झौता अनुसार आगामी २०८० असोजमा पुल निर्माणको म्याद सकिँदै छ तर निर्माण कम्पनीले बल्ल काम सुरु गरेको छ।
सम्झौता अनुसार वंशिलाघाटमा पाइल फाउन्डेसन भएको १५० मिटर लम्बाइ भएको प्रि–स्ट्रेस बक्स गिर्डर ब्रिज बन्ने छ। निरन्तर पुल निर्माण गर्नु पर्ने दबाब बढेपछि निर्माण कम्पनीले पुल निर्माण सुरु गरेको बताइएको छ।
पुल बनाउने स्थान केही तल सार्नु पर्दा काममा ढिलासुस्ती भएको सडक विभाग पुल सेक्टर धरानले जनाएको छ।
वंशिलाघाट खोटाङको वराहपोखरी गाउँपालिका, जन्तेढुङ्गा गाउँपालिका र खोटेहाङ गाउँपालिकाका सर्वसाधारण पूर्वी सहर बाहिरिने र भित्रिने प्रमुख नाका हो। वंशिलाघाटमा हाल २०७५ सालमा बनाइएको झोलुङ्गे पुलमार्फत सुनकोशी वारपार गर्ने गरिन्छ।