काठमाडौं। सञ्चालनमा आएको एक वर्षपछि गौतब बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडान हुने भएको छ। विमानस्थलमा मंगलबार बिहान साढे ७ बजे नेपाल वायुसेवा निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भई काठमाडौं आउने भएको हो।
विमानस्थलबाट एक सय हाराहारीमा यात्रु मलेसियाबाट नेपाल आउने अपेक्षा गरिएको छ। निगमले जेठ पहिलो साता मलेसिया–भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया–भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो । अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिएको बताइएको छ।
आइतबार राति ९ बजेको उडानमा जाने चालक दलको टोलीले क्वालालम्पुरबाट मंगलबार बिहान भैरहवाका लागि उडान गर्नेछ । नेपाली वायुसेवाको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएकाले यात्रुहरुको स्वागत गर्न पर्यटनमन्त्री सुदन किराती भैरहवा जाने कार्यक्रम रहेको छ।