काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले मधेस प्रदेशका पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ । प्राधिकरणले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्षेत्रका बसोवास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका विपन्न वर्गका क्रमशः ६८ र १६२ घरपरिवारलाई निःशुल्क मिटर वितरण गरेका छन् । कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँहरूको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकलाई विद्युत् पुर्याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताए ।
उनले भने, ‘विद्युत् पुगेका ठाउँको लोडसेडिङ अन्त्यको चरण पार गरी अहिले २४ सै घन्टा लोडसेडिङ भएका ठाउँमा विद्युत् पुर्याउने चरणको अन्त्यतिर छौँ। अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ। कोही नागरिक पनि विद्युत् उपभोगबाट वञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको हो ।’
प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरूमार्फत विपन्न वर्गलाई निःशुल्क मिटर उपलब्ध गराएर विद्युत् जडान गरिदिँदै आएको छ ।