सोलुखुम्बु। सोलुखुम्बुमा ४.७ मेगावाटको माथिल्लो जुनवेशी जलविद्युत आयोजना निर्माण गरिने भएको छ। सोलु दुधकुण्ड नगरपालिका भएर बग्ने कोन्जोक र बासा खोलामा गोर्खाज हिमालयन हाइड्रोले आयोजना निर्माण गर्न लागेको हो।
कम्पनीले उत्पादन अनुमतिपत्रका लागि विद्युत विकास विभाग समक्ष आवेदन दिएको छ। विभागले अनुमतिपत्र दिनु अघि सूचना निकालेर आयोजना निर्माण र संचालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५ दिनभित्र लिखित रायसुझाव पेस गर्न सरोकारवाला निकायहरुलाई आग्रह गरेको छ।
यो अर्ध–जलाशययुक्त जलविद्युत आयोजना हुनेछ। यसको डिजाइन बहाव २.८ घनमिटर प्रतिसेकेण्ड र कुल हेड २०० मिटर हुनेछ। आयोजनाबाट वार्षिक सरदर २८.८८ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ।