सुर्खेत । स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट रुकुम पश्चिम आठबीसकोट–९ राडीमा निर्माण गरिएका नाला, सडकको ग्रावेल मापदण्डविपरीत भएको भन्दै भत्काउन शुरु गरिएको छ । नगरप्रमुख रवि केसी लगायतको टोलीले अनुगमन गर्दा विकास निर्माणका काम गुणस्तरहीन भएको पाइएपछि भत्काउन शुरु भएको हो ।
टोलीले नगर क्षेत्रमा पर्ने राडी बजार क्याम्पस सडक, पसाने रामघाट अन्तर्गत निर्माणाधीन सडकको अनुगमनपछि नगरप्रमुखको टोलीले त्यस्तो निर्देशन दिएको हो ।
अनुगमनमा नगरप्रमुख रवि केसी, वडा नम्बर ९ का वडाध्यक्ष जनकबहादुर बटाला, वडा सदस्य र पालिकाका ईन्जिनियर राजेश गौतमसहित सहभागी टोलीले आइतबार र सोमबार अनुगमन गरेका हुन्। नगरपालिकाले गुणस्तर नभएको पाइएपछि स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुर्खेतबाट प्राविधिक राजबहादुर बिष्ट लगायतको टोलीले सोमबार अनुगमन गरिएको थियो । अनुगमन गर्दा काम गुणस्तरहीन भएको प्रमाणित भएपछि भत्काएर पुनःनिर्माण गर्ने सहमति भएको बताइएको छ।
गौरीशंकर कन्ट्रक्सन र शहरी विकास मन्त्रालयबीच राडी बजारदेखि खारखारासम्म ग्रावेल, मेसनरी वाल र नालासहित १४ करोडमा ठेक्का सम्झौता भएको थियो । शुभारम्भ कम्पनीसँग ६२ लाखमा ठेक्का सम्झौता भएको हो । गौरीशंकर हिमालयन कम्पनी र शुभारम्भ कम्पनीले निर्माण गरिरहेको सडक तथा नालाहरु निर्माण गर्दा गिट्टी र ढुङ्गाको मात्रा ६०/४० हुनुपर्नेमा ढुंङ्गा मात्रै राखेर निर्माण गरिएको पाइएको छ ।