कपिलवस्तु । कपिलवस्तु जिल्लामा नदीजन्य पदार्थको चोरी तस्करीमा अत्याधिक वृद्धि भइरहेको छ । स्थानीय तहले समयमा ठेक्का प्रक्रिया पूरा नगर्दा जिल्लामा नदीजन्य पदार्थको चोरी तस्करी बढेको हो ।
चालु आर्थिक वर्षको ४ महिना बित्दासमेत कपिलवस्तुका अधिकांश स्थानमा नदीजन्य पदार्थको ठेक्का लाग्न सकेको छैन ।
स्थानीय तहले समयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन नबुझाउँदा ठेक्का लाग्न नसकेको जिल्ला समन्वय समितिले जनाएको छ । समयमा ठेक्का नलागेकै कारण स्थानीय तहको राजस्व गुमेको मात्र छैन समयमै शुरु हुनुपर्ने विकास निर्माणका काम पनि प्रभावित भएका छन् ।
कतिपय स्थानीय तहले ठेक्का प्रकृयाका लागि सूचना गरेपनि विभिन्न बहानामा अदालतमा मुद्दा परेर विचाराधीन रहेकाले समयमै फैसला नहुँदा समस्या भएको दाबी गरेका छन् ।
कपिलवस्तुका स्थानीय तहको अधिकांश आम्दानीका स्रोतका रुपमा नदीजन्य पदार्थ हुन् । जसमा बाणगंगा, कोइली, कोन्द्रे, गुडरुङ्ग, सुराई, अर्रा लगायत नदीनाला रहेका छन् ।