काठमाडौं। ललितपुर महानगरपालिकाका विभिन्न स्थानमा हाइ मास्ट स्मार्ट सडक बत्ती जडान भइरहेको छ। महानगरभित्रका १२ वटा चोकमा अग्ला बत्ती जडान गर्ने काम भइरहेको हो।
महानगरलाई उज्यालो बनाउने अभियानका लागि विद्युत प्राधिकरणसँग सहकार्य गरी हाइ मास्ट स्मार्ट सडक बत्ती जडान गर्ने काम भइरहेको छ।
महानगरको पुल्चोक क्याम्पस, महानगरपालिकाको भवन अगाडि, जावलाखेल र लगनखेलमा अग्लो बत्ती जडान गर्ने काम यसअघि नै भइसकेको छ। १६ मिटर अग्लो पोलमा राखिने यो बत्तीले ६० देखि एक सय मिटर रेडियसमा बत्ती प्रकाश छर्छ।
कुपन्डोलस्थित बागमती पुल, नबिल बैंक नजिकै रहेको पुल्चोक इनार, लगनखेल चोक बसपार्क, बटुक भैरब मन्दिर अगाडि बुङमती बसपार्क, शंखमुलको शंखपार्क यो बत्ती जडान गरिने बताइएको छ। त्यसैगरी ठाडोढुंगा चोक, धोवीघाट ढुंगेधारा, महालक्ष्मी स्थानमा रहेको महालक्ष्मी मन्दिर बत्ती जडान गर्न बेस तयारीको काम भइरहेको छ।