काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले दैलेखको शीरस्थानमा अवस्थित प्राकृतिक ग्यास उत्खनन क्षेत्रको अनुगमन गरेका छन्। दाङमा अवस्थित नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहमा बुधबार सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड ग्यास उत्खनन् क्षेत्रको निरीक्षण गर्न गएका हुन्।
अवलोकनका क्रममा प्रधानमन्त्रीले दैलेखको शीरस्थानमा रहेको उक्त प्राकृतिक ग्यास उत्खनन् क्षेत्रका बारेमा विस्तृत जानकारी लिएका छन्।
प्रधानमन्त्रीले ग्यास उत्खनन् क्षेत्रको निरीक्षणअघि दैलेखको दुल्लुस्थित दहगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे। दाहाल, लम्साल, रूपाखेती, कुंवर र राणा वंशका कुल शिरोमणि दाशुको शालिक अनावरण तथा गुरूयोजना सार्वजनिक कार्यक्रमलाई प्रधानमन्त्रीले सम्बोधन गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले आफ्नो दोस्रो कार्यकाल देशका लागि परिणामुखी भएको स्मरण गर्दै तेस्रो कार्यकाल इतिहासकै सफल कार्यकाल बनाउन सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित सरकार अगाडि बढिरहेको बताए।