काठमाडौं। पूर्व–पश्चिम राजमार्गमा स्तरोन्नति भइरहेको कमला–ढल्केबर खण्डका पुलको डिजाइन समीक्षा भइरहेको छ। कमला–ढल्केबर खण्डमा निर्माण हुने ७६ वटा साना–ठुला पुलहरुको डिजाइन तयार भएर ‘रिभ्यु’ भइरहेको हो।
विकास सहायता कार्यान्वयन महाशाखाले सबै पुलको डिजाइन चेक गरेर पुल महाशाखामा पठाउने गरिन्छ। अहिले त्यही प्रक्रियाका कामहरु भइरहेको हो।
सरकारले यसलाई आगामी आर्थिक वर्षदेखि निर्माणको काम अगाडि बढाउने गरी बजेट पनि व्यवस्थापन गरेको छ। यो चालु आर्थिक वर्षमा सबै डिजाइनको काम सम्पन्न गरेर अर्को आर्थिक वर्षदेखि भौतिक रुपमा यो सडकको निर्माण सुरु गरिने छ।
यसमा स्ट्यान्डर्ड हेरेर १४२ वटा कल्भर्टहरु निर्माण गर्ने योजना छ। यसको पनि डिजाइन गर्ने काम सकिएको बताइएको छ।
यो विश्व बैंक र नेपाल सरकारको संयुक्त लगानीमा ‘स्ट्राटेजिक रोड कनेक्टिभिटी एण्ड ट्रेड इम्प्रुभमेन्ट प्रोजेक्ट’अन्तर्गत सडक विस्तार अघि बढाउन लागिएको सडक हो। सो सडक चार लेनमा विस्तार गर्न लागिएको भए पनि सहरी क्षेत्रमा दायाँ–बायाँ दुवैतर्फ ‘सर्भिस लेन’ थप एक एक लेनमा निर्माण गरिने र विभिन्न स्थानमा सवारी साधनका लागि ‘अण्डर पास’ तथा ‘ओभर पास’ निर्माण तथा जनावरका लागि सडक पार गर्न संरचना बनाइने छ।