काठमाडौं। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक चार्टर उडान हुने भएको छ। चीनको छेन्दुस्थित टिएन्फु अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौँमा नियमित उडान गर्दै आएको सिचुवान एयरलाइन्सले आगामी असार ६ गते पोखरामा चार्टर उडान गर्ने भएको हो।
पोखराको फेवातालमा असार ८ र ९ गते हुने नेपाल चाइना डर्यागन बोट रेस फेस्टिभललाई लक्षित गरेर सिचुवानले असार ६ गते चार्टर उडानको अनुमति मागेको छ। सिचुवानले एयरबस ए–३१९ विमान असार ६ गते पोखरा अवतरण भइ सोही दिन काठमाडौं हुँदै छेन्दु फर्किने बताइएको छ।
गत पुस १७ गतेदेखि सञ्चालनमा आएको यो विमानस्थलबाट आन्तरिकतर्फका बुद्ध, यती र सौर्यले नियमित उडान गर्दै आए पनि अन्तर्राष्ट्रिय उडान भने अहिलेसम्म हुन सकेको छैन ।