काठमाडौं। ऊर्जा,जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले निजी क्षेत्रलाई विद्युत व्यापारका लगि तयारी अवस्थामा रहन अनुरोध गरेका छन्। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को २१ औं वार्षिक साधारणसभाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले विद्युत विधेयकले अब छिट्टै संसदमा प्रवेश पाउने बताउँदै निजी क्षेत्र व्यापारका लागि तयार रहन आग्रह गरेका हुन्।
प्रधानमन्त्रीको भारत भ्रमण एउटा ब्रेक थ्रु भएको भन्दै अहिले परिस्थिती धेरै परिवर्तन भइसकेको मन्त्री बस्नेतले बताए ।
१० हजार मेगावाट ‘भन्ने कुरा न हुन’ भनेको पनि सुनिएको भन्दै ऊर्जा मन्त्री बस्नेतले यो सम्भव भएको दाबी गरे । अहिले बुझाइ र परिस्थितिमा ग्याप भएपनि आगामी १० वर्षभित्र १० हजार मात्रै होइन १५–२० हजार मेगावाट विद्युत व्यापार गर्ने परिस्थिती बन्ने उनले दाबी गरे । उत्पादनमा हामी ‘सरपलस’ भएपछि भारत, बंगलादेश लगायतका मुलुकसँग व्यापारको कुरा गर्यौ । तर पूर्वाधारको निर्माण ठूलो आवश्यकता भएको छ । लगानीको वातावरण बनाउन नीतिगत व्यवस्था सुधार गर्ने, सेवाप्रवाह चुस्त बनाउने लगायतका कुरा ध्यानमा राखेर अघि बढ्नुपर्छ । उत्पादन गरेर मात्र पुग्दैन ।
पहिला लगानीको वातावरण बनाएर उत्पादन बढाउने र पूर्वाधार बनाएर त्यसलाई व्यापारसँग जोड्ने नीति सरकारले लिएको मन्त्री बस्नेतले बताए ।