काठमाडौं । निर्माणपूर्वका काम पूरा गर्न ढिलाइ भएपछि भेरी पम्पिङ आयोजना प्रभावित भएको छ । दशैंअघि टेण्डर आह्वान गर्ने भनिए पनि जग्गा प्राप्ति, वातावरणीय तथा सामाजिक प्रभावबारे अध्ययन बाँकी नै रहेकाले आयोजना निर्माणमा ढिलाइ भएको हो ।
आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) भइसकेको छ । प्रदेश राजधानी सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने उद्देश्यले विश्व बैंकको सहयोगमा भेरी पम्पिङ आयोजना निर्माण गर्न लागिएको हो । चार वर्षदेखि अध्ययन थालिए पनि आयोजना निर्माणको चरणमा भने प्रवेश गरेको छैन ।
खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इञ्जिनीयर सुरत बमले लगानीको सुनिश्चितता भए पनि आयोजनाको दिगो व्यवस्थान पक्षको टुङ्गो लाग्न बाँकी रहेको बताए ।
हाल सुर्खेत उपत्यका खानेपानी तथा उपभोक्ता संस्थाले आयोजनाका लागि व्यवस्थापकीय सहयोग गर्दै आएको छ । यस संस्थालाई कुन मोडलमा सञ्चालन गर्ने भन्ने विषयमा सहमति जुट्न सकेको छैन ।