काठमाडौं। ललितपुरमा बज्रबाराही चापागाउँ अस्पतालको भवन निर्माणका लागि ठेक्का लागेको छ। सार्वजनिक निर्माण कार्यन्वयन इकाइले शुक्रबार अस्पताल भवनको निर्माणका लागि ठेक्का लगाएको हो।
१६ करोड लगानीमा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पताल १५ शय्याको हुनेछ। अस्पतालको भवन निर्माणको जिम्मा
एमके बिल्डर्स एण्ड कन्स्ट्रक्सन कम्पनीले पाएको छ। कम्पनीले १६ करोड १३ लाखमा भवन निर्माण गर्नेगरी जिम्मा पाएको हो।
गोदावरी–१० स्थित बज्रबाराही चापागाउँ अस्पतालमा व्यवस्थित भवनको अभाव छ। आवश्यकता अनुसारका आधुनिक भवन नहुँदा विभिन्न सेवा तथा सुविधामा रहेको समस्या हटाउन निर्माण योजना बनाइएको हो।
यसको निर्माण कार्य डेढ वर्षमा सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ।