रोल्पा । रोल्पाको बडाचौर विमानस्थल यतिबेला गौचरण र खेल मैदानको रुपमा परिणत भएको छ । सम्बन्धित निकायको बेवास्ताका कारण विमानस्थल अलपत्र बनेको हो ।
संरक्षणमा सरकारी उदासिनताले विमानस्थल गौचरण र खेल मैदानका रुपमा परिणत भएको हो । रोल्पाको लुङ्ग्री गाउँपालिका वडाचौरस्थित सो विमानस्थल राजनीतिक व्यवस्था फेरिएसँगै ओझेलमा परेको छ ।
विसं २०४६ सम्म सञ्चालनमा ल्याइएको सो विमानस्थल पछिल्लो समय ओझेलमा पर्दै गएको छ । तत्कालीन पर्यटन तथा नागरिक उड्डयनमन्त्री बालाराम घर्तीमगरको पहलमा २०३६ सालदेखि सञ्चालनमा ल्याइएको सो विमानस्थलबाट काठमाडौँ, पोखराजस्ता शहरमा उडान हुने गर्दथ्यो ।
रोल्पाको व्यापारिक नाका सुलिचौर बजारबाट करिब १० किलोमिटर दूरीमा रहेको सो विमानस्थललाई सरकारले बेवास्ता गर्दै आएको छ । विमानस्थल सञ्चालनका लागि पटक पटक सर्वदलीय र सर्वपक्षीयरुपमा सिंहदरबार पुगे पनि कसैले नसुनेको स्थानीयको भनाइ छ ।
रोल्पाको ऐतिहासिक एकमात्र विमानस्थल खेलमैदान र गौचरणमा परिणत भएकोमा स्थानीयवासी चिन्तित छन् । गौचरण र खेलमैदानमा रुपान्तरण भएसँगै यसको अस्तित्व समाप्त हुने भन्दै स्थानीयले चिन्ता लिन थालेका छन् ।