सिन्धुपाल्चोक। सिन्धुपाल्चोकको चौतारा अस्पतालको नयाँ भवन निर्माण कार्य ६५ प्रतिशत पूरा भएको छ। चिनियाँ अनुदानमा बनिरहेको चौतारा अस्पतालको नयाँ भवनको बाहिरी संरचना निर्माण सकिएको हो।
भित्री काम र फिनिसिङ आगामी वर्षको फेब्रुअरीसम्म सम्पन्न हुने निर्माणमा संलग्न चिनियाँ इन्जिनियर गुओ बाओचिङले जनाएको छ।
भवनको बाहिरी संरचना पूरा भएपछि चिनियाँ निर्माण कम्पनी हवेई कन्स्ट्रक्सन ग्रुपले अन्तर्राष्ट्रिय मापदण्डअनुरूप भवन बलियो रहेको र ६५ प्रतिशत काम सकिएको जानकारी दिएको हो।
चीनको वाणिज्य मन्त्रालयअन्तर्गत एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसनले सम्पूर्ण व्यवस्थापनको जिम्मेवारी चाइना चियुयान इन्जिनियरिङ कर्पोरेसनलाई दिएको छ । चियुयान कर्पोरेसनको डिजाइनमा भवन निर्माण गर्न चिनियाँ निर्माण कम्पनी हवेई कन्स्ट्रक्सन ग्रुप फिल्डमा खटिरहेको छ ।
३९ बेडको अस्पताल भवनमा ५० भन्दा बढी सानाठूला कक्ष छन् । नयाँ भवनमा अस्पतालको काम सुरु गर्ने समयसम्म ६१ मिलियन आरएमबी खर्च हुने बताइएको छ। बिरामीका लागि ३९ बेड भवनको पहिलो र दोस्रो तलामा रहनेछन् । सुविधासम्पन्न भवनमा शारीरिक असक्तता भएकाहरूलाई हिँड्ने ओरालो बाटो, लिफ्ट सिस्टम र अत्याधुनिक उपकरण जडान गरिएको छ ।