काठमाडौं। बढीले भत्काएको दुई दिनमै मेची राजमार्गको ताप्लेजुङ र पाँचथर जोड्ने हेवाखोलामा पुल बनाउन सुरु भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षति भएका संरचनाको विवरण लिई पुनर्निर्माण थालेको हो।
गत असार ३ गते आएको अविरल वर्षाका कारण भत्किएको पुल असार ४ गतेदेखि नै पुनर्निर्माण गर्न सुरु गरिएको हो। मन्त्री प्रकाश ज्वालाले हेवाखोलामा तत्काल बेलिब्रिज निर्माण गर्न आयोजना प्रमुखलगायत मातहतका निकायलाई निर्देशन दिएका थिए।
सोमबार प्रधानमन्त्रीसहित मन्त्री ज्वाला बाढीपहिरो प्रभावित क्षेत्रमा पुगेका थिए। प्रभावित क्षेत्रमै पुगेर मन्त्री ज्वालाले क्षति भएका संरचनाको तत्काल पुनर्निर्माण थाल्न निर्देशन दिएका थिए।
बेलिब्रिज निर्माणका सामग्रीहरू निर्माणस्थलमा पुगिसकेका छन्। केही दिनभित्रमा बेलिब्रिजको काम सकेर यातायात सुचारु गराउने बताइएको छ।