धादिङ। धादिङको नौविसेमा रहेको ‘ट्रयाम्प जिपलाइन’ मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको छ। काठमाडौँबाट २७ किलोमिटरको दूरीमा पर्ने ‘ट्रयाम्प जिपलाइन’मा आन्तरिक पर्यटकको आकर्षण बढ्न थालेको हो।
धादिङको थाक्रे गाउँपालिका–७ सातघुम्तीस्थित ‘नौबिसे ट्रयाम्प अर्ग्र्यानिक रिसोर्ट एन्ड जिपलाइन’ नियमित सञ्चालनमा आएको एक वर्षमै करिब चार हजारले उक्त जिलाइनको मनोरञ्जन लिसकेका छन्।
एक हजार दुई सय मिटर लामो सो जिपलाइन पछिल्लो समयमा नेपालमा सञ्चालनमा आएको सम्भवतः सबैभन्दा भिरालो (स्टेपेष्ट) जिपलाइन हो भने नेपालको दोस्रो लामो जिपलाइन हो । धादिङको नौबिसेबाट दामन जाने सडकमा पर्ने यो रिसोर्ट र जिपलाइनको विसं २०७९ वैशाख ७ गते बागमती प्रदेश सरकारका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले शुभारम्भ गरेका थिए।
छोटो समयमा सबैभन्दा आकर्षक मानिने यस साहसिक पर्यटन उत्पादनले आन्तरिक पर्यटकलाई आकर्षित गराउँदै आएको छ । प्रतिव्यक्ति तीन हजार पाँच सय शुल्क राखिएको यो जिपलाइनले २५ प्रतिशत छुटसहित विभिन्न प्याकेज दिँदै आएको छ । यसमा १० वर्षभन्दा कम उमेर र ३५ केजीभन्दा कम तौल भएका तथा बढीमा एक सय १५ केजीका व्यक्तिलाई मात्रै चढाइन्छ।
कुल एक सय २७ रोपनी क्षेत्रफलमा रहेको सो रिसोर्ट र जिपलाइनमा गरी हालसम्म करिब २७ करोड लगानी भइसकेको र जिपलाइनका लागि मात्रै दुई करोड लगानी भएको रिसोर्टले जनाएको छ।