चितवन। भरतपुर बाइपास सडकको बसपार्क चोक–विशाल चोक खण्डको काम ७ वर्षमा पनि पुरा हुन सकेको छैन। १५ महिनामा सम्पन्न हुनु पर्ने उक्त सडकको काम ७ वर्षमा पनि पुरा हुन नसकेको हो।
निर्माण कम्पनीले दैनिक ५७ हजार रुपैयाँ हर्जना तिरेको ८ महिना भइसक्दा पनि अझै काम सकिएको छैन । सडकमा पिच गरेर सक्न नपाउँदै खाल्टाखुल्टी पर्न थालेको छ । खाल्टाखुल्टीले दुर्घटनाको जोखिम बढाएको छ।
सडक डिभिजन भरतपुरले बसपार्क चोक–विशाल चोक खण्डमा मर्मत सम्भारको काम बाँकी रहेको बताएको छ। ठेकेदारले दैनिक हर्जना तिरेर काम गरिरहेको बताइएको छ। खानेपानीको पाइप फुटेर पानी निस्किएपछि सडक खाल्टाखुल्टी परेको सडक डिभिजन भरतपुरको भनाइ छ।
उक्त खण्डको काम गौरी पार्वती निर्माण सेवा प्रालिले पाएको थियो। उसले अहिले कुल ठेक्काको दैनिक ०.०५ प्रतिशत हर्जना तिर्दै आएको छ ।
सडक भत्किएको ठाउँमा पनि खानेपानीले पाइप मर्मत गर्ने काम भइरहेको बताइएइको छ। २०७३ सालको पुस १९ गते ठेक्का सम्झौता भएको सडकको काम पाचौँ पटक म्याद थप्दा पनि नसकिएपछि ठेकेदारलाई हर्जना लगाइएको हो।
सुरूआतमा केन्द्रीय बस टर्मिनलदेखि आँपटारीसम्मको ६ किलोमिटर सडक ७ मिटर चौडा बनाएर कालोपत्रे गर्नेगरी सम्झौता भएको थियो । यसका लागि १२ करोड ८१ लाख ८२ हजार ९४७ रूपैयाँमा सम्झौता भएको थियो।
तर केही समयमै डिजाइनमा परिमार्जनगरी बीच भागमा ‘मिडियन’ बनाएर त्यसको दायाँ–बायाँ ७–७ मिटरको कालोपत्रे सडक र दुबैतर्फ एक÷एक लेन ग्राभेल सडक बनाउने सम्झौता भयो । पहिले आँपटारीसम्म बनाउने भनिएको ६ किलोमिटर सडकलाई घटाएर ४ किलोमिटर बनाउने भनि १३ करोड ४५ लाख ८२ हजार ७९१ रुपैयाँमा सम्झौता गरिएको थियो। सडक लामो समयसम्म निर्माण सम्पन्न नहुँदा यहाँका स्थानीयले दुख भोग्दै आएका छन्। खाल्टाखुल्टीले गर्दा दिनहुँ दुर्घटनाको जोखिम बढेको उनिहरुको गुनासो रहेको छ।